खडक राज पौडेल (गनेस)

खडक राज पौडेल (गनेस)

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

प्रारम्भिक जीवन

माननीय खडक राज पौडेल (गनेस) नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ। वि.सं. २०८२ सालमा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले मिति २०८२ चैत्र १३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको हो।


वि.सं. २०३६ सालमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१४, मझेरीपाटनमा जन्मिनुभएका मन्त्री पौडेलले पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) तथा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक उपाधि हासिल गर्नुभएको छ। उहाँले शिक्षण तथा साहित्यिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै १५ वर्षभन्दा बढी शिक्षण अनुभव हासिल गर्नुभएको छ।


साहित्य सिर्जना तथा अनुवादका क्षेत्रमा समेत सक्रिय रहनुभएका उहाँको आफ्नै मौलिक कृति ‘पैताला’ प्रकाशित छ। साथै, जोन स्टेनबेकको प्रसिद्ध कृति Of Mice and Men को नेपाली अनुवाद ‘मुसा मानुष’ उहाँको अनुवादित कृति हो। 

उहाँले शिक्षण, साहित्य तथा सामाजिक अभियानसँगै सार्वजनिक जीवनमा समेत निरन्तर सक्रियता देखाउँदै आउनुभएको छ। वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्नुभएपछि उहाँको सार्वजनिक तथा राजनीतिक यात्रा थप विस्तार भएको हो। वैकल्पिक राजनीतिक अभ्यासमा संलग्न हुँदै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभयो।

उहाँको सार्वजनिक तथा राजनीतिक यात्रामा सुशासन, पारदर्शिता, सार्वजनिक जवाफदेहिता र नीतिगत सुधारका विषयले प्राथमिकता पाउँदै आएका छन्। मन्त्रीका रूपमा उहाँले संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धन, पर्यटन क्षेत्रको दिगो विकास, नागरिक उड्डयनको सुरक्षा तथा हवाई पूर्वाधारको सुदृढीकरण, साथै सम्बन्धित क्षेत्रहरुको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राख्नुभएको छ।